Logo

सांकेतिक तस्वीर

७ चैत, काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभावका कारण देशभरको मौसममा उल्लेख्य बदलाव आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा पूर्णदेखि साधारणतया बदली रहनेछ ।

मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायतका पहाडी तथा हिमाली क्षेत्रमा अहिले बाक्लो बादल लागेको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मौसम प्रतिकुल रहने देखिएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरैजसो स्थानमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षाको प्रक्षेपण गरिएको छ । वर्षासँगै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भूभागका थोरै स्थानहरू तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

हावाहुरी, चट्याङ र असिनाले कृषि बाली तथा जनजीवनमा असर पार्न सक्ने भन्दै मौसमविद्हरूले विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । विशेषगरी यात्रामा निस्कनेहरू र बाहिरी काममा रहनेहरूलाई मौसमको अवस्था बुझेर मात्र अघि बढ्न भनिएको छ ।


सम्बन्धित समाचार