७ चैत,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ का अध्यक्ष चन्द्रप्रसाद ढकाल ले गैरआवासीय नेपालीहरूको पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकाससँग जोड्न आग्रह गर्नुभएको छ।
महासङ्घ सचिवालय, टेकुमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले गैरआवासीय नेपालीहरूको स्रोत–साधनलाई देशको विकास र समृद्धिमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँका अनुसार महासङ्घको पहलमा नीतिगत तथा प्रक्रियागत सुधारहरू भएका छन्, जसले लगानीका लागि वातावरण सहज बन्दै गएको छ। वैदेशिक लगानी आकर्षित गर्न र प्रक्रियागत जटिलता घटाउन नेपाल सरकारसँग समन्वय गर्दै थुप्रै सुधार गरिएको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा एनआरएनएका अध्यक्ष डा हेमराज शर्मा ले गैरआवासीय नेपालीहरू नेपालको विकासमा सक्रिय साझेदार बन्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो।

















