७ चैत, स्याङ्जा । सामाजिक सञ्जाल प्रयोग गरी अनलाइन ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा स्याङ्जाका ३४ वर्षीय भेषराज वाग्लेलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वाग्ले टिकटकमार्फत चिनजान गरी ह्वाट्सएपमा महिलाहरूलाई लक्षित गरी ठगी गरेको आरोपमा पक्राउ परेका हुन्। उनी स्याङ्जाको बिरुवा गाउँपालिका–२ का बासिन्दा हुन्। पक्राउ परेपछि उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
प्रहरीका अनुसार वाग्ले आफूलाई अमेरिकन आर्मीमा कार्यरत बताउने र विभिन्न बहानामा महिलाहरूलाई ठगी गर्ने गरेको पाइएको छ। उनले नेपालमा बिदामा आएको र जग्गाको कर तिर्न समस्या परेको भन्दै रकम माग्ने गरेको समेत खुलेको छ।
काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिँदै भने, वाग्ले आफ्नो बैंक खातामा ‘लिमिट’ लागेको भन्दै पनि विभिन्न व्यक्तिसँग रकम माग्ने गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले सर्वसाधारणलाई सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग आर्थिक कारोबार नगर्न र कुनै प्रलोभनमा नपर्न सचेत रहन आग्रह गरेका छन्।

















