Logo

७ चैत, नवलपरासी पूर्व ।  वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल–नारायणगढ खण्डमा सवारी आवागमन अवरुद्ध भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत त्रिवेणी गाउँपालिका–२, दाउन्ने क्षेत्रमा परेको वर्षाले सडक हिलो र चिप्लो भएपछि सवारीसाधन उकालोमा फसेका कारण मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार शुक्रबार दिउँसोदेखि परेको वर्षाले सडकमा हिलो जम्दा हल्का वर्षामा समेत सवारीसाधन गुड्न नसकेको र पूर्वबाट पश्चिमतर्फ जाने सवारीहरू उकालोमा फसेर जाम लागेको छ।

नारायणगढ–बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा सडक अवरोधको कारण सवारी आवागमनमा समस्या भइरहेको र मर्मतसम्भारको प्रयास भइरहेको जानकारी दिएको छ। उक्त खण्डको निर्माण विस्तार नसकिँदा सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने गरेको बताइएको छ।

यस्तै, नारायणघाट–बुटवल सडक आयोजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। रातिको समयमा सवारी रोक लगाउने निर्णय सम्भावित जोखिम न्यूनीकरण गर्न गरिएको हो।

साना तथा आकस्मिक सेवाका सवारीसाधन भने सञ्चालन भइरहे पनि समस्या जारी रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो।


सम्बन्धित समाचार