७ चैत,काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंको माइतिघरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति द्वारा आयोजित ध्यानाकर्षण सभामा दलित अधिकारकर्मी तथा अगुवाहरूले जातीय भेदभाव र छुवाछुतलाई पूर्ण रूपमा अन्त्य गर्नुपर्ने आवाज उठाएका छन्।
सभामा सहभागीहरूले समान हक र अवसरसहितको समाजवादी आधार निर्माणका लागि संविधान संशोधनको मागसमेत राखेका थिए।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार ले देश परिवर्तनको प्रक्रियामा पछाडि परेको समुदायलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले आगामी दिनमा पनि जातीय भेदभाव तथा छुवाछूत अन्त्यको दबाब निरन्तर राखिने बताए।
उक्त सभामा सहभागीहरूले “समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन” भन्ने नारासहित बिभेद अन्त्यको लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिएका छन्।

















