७ चैत,काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव ले मुस्लिम समुदायको अधिकार, प्रतिनिधित्व र सशक्तिकरणका लागि कार्यरत मुस्लिम आयोगले सात वर्षको अवधिमा गरेको कामलाई महत्वपूर्ण र प्रशंसनीय उपलब्धि भएको बताउनु भएको छ।
शनिबार मुस्लिम आयोगको सातौँ स्थापना दिवस २०८२ को अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपालको संविधानले सुनिश्चित गरेको समानता, न्याय र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्यहरूलाई व्यवहारमा उतार्न आयोगले खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्नु भएको हो। उहाँले भन्नुभयो, “नेपालको संविधानले सुनिश्चित गरेको समानता, न्याय र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यहरुलाई मूर्तरुप दिन मुस्लिम आयोगले ७ वर्षको अवधिमा पुर्याएको उल्लेखनीय योगदान प्रशंसनीय छ।”
उपराष्ट्रपति यादवले संविधानको धारा २७ र धारा २६४ अनुसार मुस्लिम आयोगको स्थापना गरिएको उल्लेख गर्दै यसको मुख्य उद्देश्य मुस्लिम समुदायको हकहित संरक्षण, संवर्द्धन र सशक्तिकरणका लागि नेपाल सरकारलाई आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुझाव दिने रहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार आयोगले संविधानद्वारा प्रत्याभूत अधिकारहरूलाई व्यवहारमा उतार्ने काम निरन्तर गर्दै मुस्लिम समुदायलाई राज्य संरचनामा अझ सशक्त रूपमा जोड्ने प्रयास गरिरहेको छ।
सात वर्षको छोटो अवधिमा आयोगले शिक्षा, रोजगारी, महिला सशक्तिकरण, सामाजिक सद्भाव र सांस्कृतिक उत्थानका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। उपराष्ट्रपति यादवले बताए अनुसार यी कार्यक्रमहरूले मुस्लिम समुदायको सामाजिक–आर्थिक अवस्था सुधार गर्दै राष्ट्रिय जीवनमा समावेशीकरणलाई मजबुत बनाएको छ। उहाँले थप्नुभयो, “२०७५ सालमा स्थापना भएको यस आयोगले मुस्लिम समुदायको अधिकार पहिचान र समावेशीकरणलाई संस्थागत रूपमा प्रवर्धन गर्दै राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिएको छु।”
उपराष्ट्रपति यादवले आयोगले केवल नीति निर्माणमा सरकारलाई सुझाव दिने मात्र नभई समुदाय स्तरमा चेतना अभिवृद्धि गर्ने काम पनि प्रभावकारी रूपमा गर्दै आएको बताए। उहाँले समावेशी लोकतन्त्रको लक्ष्य प्राप्तिका लागि यस्ता आयोगहरूको भूमिका अझ सशक्त हुनुपर्ने धारणा राख्दै संविधानले परिकल्पना गरेको समान अवसर र न्यायपूर्ण समाज निर्माणका लागि सबै निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न प्रदेश प्रमुखहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरे। कोशी प्रदेशका प्रदेश प्रमुख पशुराम खापुङ, सुदूरपश्चिम प्रदेशका नजिर मियाँ, गण्डकी प्रदेशका डिल्लीराज भट्ट तथा बागमती प्रदेशका दिपक प्रसाद देवकोटा ले आयोगको कार्यलाई सफलताको शुभकामना दिएका छन्।
प्रदेश प्रमुखहरूले मुस्लिम समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक सशक्तिकरणका लागि आयोगले खेलेको भूमिकालाई निरन्तर अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
उपराष्ट्रपति यादवले यस अवसरमा आयोगले खेलिरहेको भूमिका केवल मुस्लिम समुदायको हितमा सीमित नरहेको, समग्र समाजको समावेशीकरण र समान अवसरको प्रवर्द्धनमा पनि योगदान पुर्याउने महत्त्वपूर्ण साधन भएको बताए। उनले समावेशी लोकतन्त्र, समानता र न्यायपूर्ण समाज निर्माणको लक्ष्य हासिल गर्न यस्ता आयोगहरूको कार्य प्रभावकारी र दीगो हुन आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा आयोगका पदाधिकारी, कर्मचारी तथा विभिन्न समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

















