८ चैत, चितवन । नवलपरासीको गैँडाकोट–५ मा अवस्थित त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३४औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाको परिसरमा आयोजित उक्त कार्यक्रममा विभिन्न १० विधाअन्तर्गत ४७ जना सेयर सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी ले सहकारी संस्था नीति, विधि र पारदर्शितामा आधारित भएर अघि बढेको उल्लेख गर्दै सदस्यहरूको सक्रियता र अनुगमनलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए । उनले गैँडाकोट क्षेत्रका सहकारीहरूको अवस्था समग्रमा सन्तोषजनक रहेको धारणा व्यक्त गरे ।
संस्थाका कार्यवाहक अध्यक्ष शंकरनाथ आचार्यले संस्था प्रविधिमैत्री बनाउँदै समयअनुकूल नीतिगत सुधार, सदस्य विस्तार र ऋण असुली व्यवस्थापनलाई प्रभावकारी बनाउँदै गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित रहेको बताए । सेयर सदस्य नै संस्थाको आधारस्तम्भ भएको उल्लेख गर्दै लगानीको उच्च प्रतिफल सुनिश्चित गर्न संस्था निरन्तर प्रयासरत रहेको उनको भनाइ थियो।
सचिव दोलराज पाण्डेले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम प्रस्तुत गर्दै आयआर्जन, कृषि र रोजगार सिर्जनासँग सम्बन्धित ऋणलाई प्राथमिकता दिइने जानकारी दिए । साथै सदस्यहरूको आर्थिक, सामाजिक, स्वास्थ्य तथा वातावरणीय क्षेत्रको उन्नतिका लागि लक्षित कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरे ।
कोषाध्यक्ष विपिनभक्त अधिकारीले आर्थिक विवरण प्रस्तुत गर्दै संस्थाको सेयर पूँजी ३ करोड ९८ लाख २१ हजार ९ सय रुपैयाँ पुगेको र १ करोड ३१ लाख ९४ हजार ५ सय रुपैयाँ मुनाफा हासिल भएको जानकारी दिए ।
लेखा तथा सुपरिवेक्षण समितिका संयोजक मुरारी भुसालले संस्थाको सकारात्मक पक्षको प्रशंसा गर्दै प्रविधिको अधिकतम प्रयोग र निष्क्रिय सदस्यलाई सक्रिय बनाउनेतर्फ ध्यान दिन सुझाव दिए ।
कार्यक्रममा सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष बाबुराम खनाल, संस्थापक अध्यक्ष तथा शिक्षाविद् चुडामणी कंडेल लगायत विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। साथै संस्थाका पूर्व अध्यक्षहरू, जनप्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति थियो।
त्रिनेत्र युवा क्लबका सदस्यहरूको पहलमा वि.सं. २०५० सालमा स्थापना भई २०५२ साल पौषमा जिल्ला सहकारी कार्यालय नवलपरासीमा विधिवत दर्ता भएपछि औपचारिक रूपमा सञ्चालनमा आएको यो संस्था विगत तीन दशकभन्दा लामो समयदेखि बचत तथा ऋण सेवामार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।
हाल २ हजार ३१ जना सेयर सदस्य आबद्ध रहेको संस्थाले स्थापनाकालदेखि नै अपनाएको सहकार्य, विश्वास र पारदर्शिताको मूल्यमान्यतालाई निरन्तरता दिँदै अगाडि बढिरहेको छ।

















