Logo

१३ असोज वीरगञ्ज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनको क्षेत्र नंं ३ छोडन स्थानीय रुपमा काग्रेस सकरात्मक भएपछि सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभातर्फ चितवनका तीन निर्वाचन क्षेत्रमा भागबण्डा टुङ्गिएको छ ।
चितवनको क्षेत्र न. १ र २ नेपाली काग्रेसले पाउने भएपछि चितवन काग्रेस भित्रको अन्तर बिरोध तत्कालका लागि सकिएको नेपाली काग्रेस चितवनले जनाएको छ । नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालले जिल्ला समितिको निर्णय अनुसार नै केन्द्रीय गठबन्धनले चितवनको भागबण्डा टुङ्ग्याएको भन्दै आफूहरु सकारात्मक रहेको बताए ।
जिल्लाबाट निर्णय भए अनुसार नै सत्ता गठबन्धनमा भागबण्डा भएकाले कांग्रेस चितवनले त्यसलाई स्वीकार गरेर अघि बढ्ने उनको भनाइ छ । ‘हामीले जिल्ला समितिको बैठकबाटै आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने र संघीयतर्फको ३ क्षेत्र मध्ये २ क्षेत्रमा दाबी गर्ने निर्णय गरेका थियौं ।’

सोही अनुसार संघतर्फ कांग्रेसले चितवनको क्षेत्र नम्बर १ र २ मा उम्मेदवारी दिने तथा माओवादी केन्द्रले क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिनेगरी सहमति भएको भन्दै उनले सो निर्णयको स्वागत गरे । उनका अनुसार केन्द्रीय गठबन्धनको निर्णयबाट चितवन कांग्रेसका कुनै नेता तथा कार्यकर्ता रुष्ट हुन पर्ने अवस्था छैन । ‘केन्द्रको निर्णयप्रति चितवनका आम कार्यकर्ताहरु रुष्ट हुनुपर्ने अवस्था छैन,’ उनले भने, ‘हामीले मागेको क्षेत्र पाएका छौं । विगतमा जस्तो कांग्रेसमा विद्रोहको आवाज पनि सुनिएको छैन ।’

स्थानीय तह निर्वाचनताका उठेका आवाजहरु पनि समाधान गर्न चितवन कांग्रेस सफल भएको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रका चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले पनि सत्ता गठबन्धनबीच भएको भागबण्डा सकारात्मक रहेको बताए । उनले सत्ता गठबन्धनबीच प्रतिनिधिसभातर्फ चितवन–३ मा माओवादी केन्द्र र अन्य २ वटा क्षेत्रमा कांग्रेसले भाग पाउँदा कुनै समस्या नहुने जनाए ।

उक्त निर्णय तल्लो तहका कार्यकर्ताको मनोभावना अनुकुल रहेको उनको भनाइ छ ।

उता चितवनमा एक सिट पनि भाग नपाएको नेकपा एकीकृत समाजवादी पनि केन्द्रको निर्णय स्वीकार गर्नुको विकल्प नरहेको बताउँछ । एकीकृत समाजवादी पार्टीका चितवन इन्चार्ज एवम् चितवन–२ बाट संघीय सांसदमा दाबी गर्दै आएका कृष्णप्रसाद शर्मा खनालले गठबन्धनका लागि केन्द्रीय नेताले गरेको निर्णय सर्वस्वीकार्य हुने भएकाले यसमा कसैले आपत्ति व्यक्त गर्नुपर्ने अवस्था नरहेको बताए ।

उनले संघमा अवसर नपाएका उम्मेदवारहरुले प्रदेशमा अवसर पाउने भएकाले यसमा कुनै समस्या नरहेको बताए । निर्णयलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।

‘वर्तमान गठबन्धनको मर्म र भावना सबै दल र नेताहरुले बुझ्नु पर्छ । हामीले केन्द्रीय निर्णय स्वीकार गर्नुको विकल्प छैन,’ उनले भने, ‘संघमा अवसर नपाएका नेताहरुले प्रदेशमा पाउनु हुन्छ । यसमा आपत्ति मान्नुपर्ने कुरा छैन ।’

भागबण्डामा कसले के पायो र के पाएन भन्दा पनि संविधान सही दिशामा छ वा छैन भन्ने कुरा अहिलेको मुल विषय भएको उनले बताए । उनले भने, ‘त्यसैले निर्णय मेरो पक्षमा नआए पनि हामी एकजुट हुन जरुरी छ ।’


सम्बन्धित समाचार