१८ चैत, काभ्रेपलाञ्चोक । वर्षा रोकिएपछि बीपी राजमार्गमा यातायात पुनः सञ्चालनमा आएको छ।
मंगलबार बेलुकादेखि वर्षा रोकिँदा जोखिम कम भएपछि यातायात खुलाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए।
मंगलबार साँझ करिब ७ बजेदेखि पनौती, नमोबुद्ध र दाप्चा क्षेत्रमा परेको भारी वर्षाका कारण चौकीडाँडा–नेपालथोक खण्डमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको थियो।
वर्षा रोकिएपछि काभ्रेभञ्ज्याङ र नेपालथोक क्षेत्रमा रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएका छन्।
हाल निर्माणाधीन अवस्थामा रहेको बीपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्मको खण्डमा रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ।

















