Logo

१९ चैत, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल डेढ साताको बिदा लिएर भारतको बैंगलोरतर्फ लागेकी छन् ।

विवादास्पद व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानको सुई सोझ्याएसँगै बिचौलियाहरू समातिने त्रासका बीच पौडेल भारत जानुले शंका पैदा गरेको छ । यद्यपि कम्पनीका प्रवक्ता शिशिर गैरेले भने उनी उपचारका लागि विदेश गएको दाबी गरेका छन् ।

विशेषगरी जेनजी आन्दोलनका क्रममा हिल्टन होटलमा भएको भौतिक क्षतिको बिमा दाबी भुक्तानीमा ठूलो चलखेल भएको र नियमविपरीत दायित्व सारेर हिमालयन रि–इन्स्योरेन्सलाई अनुचित लाभ दिलाउन खोजेको गम्भीर आरोप उनीमाथि लाग्दै आएको छ ।

हिल्टन होटलको बीमा दाबी भुक्तानीमा भएको करिब ४ अर्बको अनियमितता र नियमविपरीत दायित्व सारेको गम्भीर आरोप उनीमाथि छ । बिमा प्राधिकरणको कारबाही र अध्यक्षको राजीनामापछि सीईओको यो वैदेशिक प्रस्थानले कम्पनीभित्रको कानुनी र नेतृत्व संकट झन् गहिरिएको सङ्केत गर्छ ।

यसअघि नै नेपाल बिमा प्राधिकरणले हिल्टन होटल प्रकरणमा हिमालयन रिलाई २ लाख रुपैयाँ जरिवाना गरिसकेको छ भने सोही समूहको लगानी रहेको एलियन्ट पुनर्बिमा ब्रोकरको लाइसेन्स तीन महिनाका लागि निलम्बनमा परिसकेको छ ।

करिब ४ अर्ब रुपैयाँको पुनर्बिमा दायित्वमा भएको अनियमितता र व्यवसायी भट्टले कम्पनीकै चेक प्रयोग गरी सेयर खरिद गरेको विषयमा सीईओ पौडेलको संलग्नता रहेको आशंकामा छानबिन भइरहेकै बेला उनी बाहिरिनुलाई अर्थपूर्ण मानिएको छ ।

कम्पनीका अध्यक्ष शेखर गोल्छाले समेत यसअघि नै राजीनामा दिइसकेको पृष्ठभूमिमा, सीईओको यो वैदेशिक प्रस्थानले हिमालयन रि(इन्स्योरेन्सभित्रको आन्तरिक संकट र कानुनी उल्झन झन् गहिरिँदै गएको सङ्केत गरेको छ ।


सम्बन्धित समाचार