Logo

१९ चैत, काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर अनुसन्धानका क्रममा रहेका विवादित व्यवसायी दीपक भट्टलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको छ ।

एआईजी मनोज केसीका अनुसार अवैध सम्पत्ति आर्जन र शुद्धीकरणको आशंकामा सुक्ष्म अनुसन्धान अघि बढेपछि भट्टलाई नियन्त्रणमा लिइएको हो । अनुसन्धानको दायरा फराकिलो भएसँगै उनी देशबाहिर भाग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले यो कदम चालेको बुझिएको छ ।

भट्टमाथि अनुसन्धान सुरु भएसँगै अध्यागमन विभागले उनलाई यसअघि नै कालोसूचीमा राखेर निगरानी बढाएको थियो । विभागले गत सोमबार मात्रै सम्बन्धित निकायलाई पत्र पठाएर उनको राहदानी (पासपोर्ट) रोक्का गर्न र वैदेशिक यात्रामा प्रतिबन्ध लगाउन अनुरोध गरेको थियो ।

कालोसूचीमा परेकै साताभित्र सीआईबीले उनलाई नियन्त्रणमा लिएपछि अब सम्पत्ति शुद्धीकरणको मुद्दाले नयाँ मोड लिने देखिएको छ । सरकारले पछिल्लो समय वित्तीय सुशासन र अवैध धनको खोजीमा तीव्रता दिएका बेला यो पक्राउलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार