Logo

२३ चैत, काठमाडौँ । प्रतिनिधिसभाले नयाँ नेतृत्व पाएसँगै संसद्को नियमित कामकारबाही र रोकिएका संसदीय प्रक्रियाहरूले गति लिने भएका छन्। लामो समयको अन्योल चिर्दै संसद्लाई प्रभावकारी बनाउन संघीय संसद् सचिवालयले आजैदेखि सक्रियता बढाएको छ ।

संसद् सञ्चालनमा राजनीतिक दलहरूबीच साझा सहमति जुटाउन र आगामी बैठकका कार्यसूचीहरू तय गर्न सभामुखको आह्वानमा आज बिहान ११ बजे सर्वदलीय बैठक बस्दैछ। उक्त बैठकले सदनको कामलाई परिणाममुखी बनाउने र कार्यसूचीलाई अन्तिम रूप दिने बताइएको छ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आजको बैठकमा विशेषगरी प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा महत्वपूर्ण अध्यादेशहरूलाई स्वीकृतिका लागि लैजाने तयारी गरिएको छ। सम्भावित कार्यसूचीमा ती अध्यादेशहरूलाई सदनबाट अनुमोदन गराउने प्रस्ताव समावेश गरिएको उनले जानकारी दिए ।

यसका साथै, सदनको दैनिक कार्यसम्पादनलाई व्यवस्थित र अनुशासित बनाउन ‘कार्यव्यवस्था परामर्श समिति’ गठन गर्ने विषयमा पनि आजै छलफल हुनेछ। उक्त समिति बढीमा २१ सदस्यीय बनाउने गरी परामर्श भइरहेको सचिवालयले जनाएको छ।

नयाँ निर्वाचनपछि संसद्को आफ्नै नियमावली आवश्यक पर्ने भएकाले आजको बैठकले ‘प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समिति’ गठनको प्रक्रिया समेत अघि बढाउने बुझिएको छ। हाल पुरानै नियमावलीका आधारमा काम भइरहे पनि नयाँ नियमावली बनेपछि संसद्को कार्यशैली थप आधुनिक र व्यवस्थित हुने विश्वास गरिएको छ। प्रवक्ता गिरीका अनुसार नियमावली नबनुञ्जेलसम्म पनि काम रोकिने छैन, तर पूर्ण कार्यक्षमताका लागि मस्यौदा समिति गठनलाई प्राथमिकता दिइएको छ।

संसद् विघटन र पछिल्लो निर्वाचनका कारण लामो समयदेखि जनसरोकारका मुद्दाहरू ओझेलमा परेका थिए । अब संसद्को ‘शून्य’ र ‘विशेष’ समयमार्फत सांसदहरूले जनजीविकाका सवाल र राष्ट्रिय मुद्दाहरू उठाउन पाउने वातावरण सिर्जना भएको छ ।

सचिवालयले संसद्लाई कार्यमूलक बनाउन र संसदीय निगरानीलाई प्रभावकारी बनाउन आवश्यक गृहकार्य सुरु गरिसकेको छ । नयाँ सभामुखको आगमनसँगै कानुन निर्माणका कार्यहरूले गति लिने र संसद् पूर्ण रूपमा क्रियाशील हुनेमा सरोकारवालाहरूले विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार