२३ चैत, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य प्रमुख दलहरूले संसदीय दलको नेता चयन गरिसके पनि कांग्रेसमा भने अहिलेसम्म नेतृत्व टुङ्गो लाग्न सकेको छैन ।
आजको बैठकमा विशेषगरी संसदीय दलको नेता चयनको प्रक्रिया र पार्टीको आगामी १५औँ महाधिवेशनको तयारीका विषयमा घनीभूत छलफल हुने बताइएको छ ।
संसदीय दलको नेताका लागि कांग्रेसभित्र आकांक्षीहरूको दौडधुप तीव्र बनेको छ । नेतृत्वका लागि प्रभावशाली नेताहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, निस्कल राई र भरतबहादुर खड्काको नाम प्रमुख चर्चामा रहेको छ ।
दलको नेता चयनमा ढिलाइ हुँदा संसद्मा पार्टीको भूमिका प्रभावकारी हुन नसकेको गुनासो उठिरहेका बेला आजको बैठकले निर्वाचनको मिति वा सहमतिको खाका तय गर्ने अपेक्षा गरिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्था र संसद्मा खेल्नुपर्ने भूमिकाबारे पनि सांसदहरूबीच छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।

















