Logo

२३ चैत, चितवन । चितवनमा चालू आर्थिक वर्षको साउनयता उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठरोगको सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १३ जना रहेका छन् ।

त्यस्तै, कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा यो रोग देखिएको छ । सङ्क्रमित १८ जनामध्ये १० पुरुष र ८ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लाभर ४३ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएको थियो, जसमा २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका बालबालिका रहेका थिए ।

क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार कुष्ठरोग ‘माइक्रोब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने सरुवा रोग हो । शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखापर्नु यसको प्रारम्भिक लक्षण हो । उपचारमा ढिलाइ भएमा अनुहार र कानका लोतीमा गिर्खाहरू देखिने, छाला चम्किलो र बाक्लो हुने, आँखीभौँ झर्ने र अन्त्यमा अपाङ्गता समेत हुन सक्ने जोखिम रहन्छ ।

हातखुट्टा झमझम गर्ने, मांसपेशी कमजोर हुने र स्नायु सुन्निने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउन कार्यालयले आग्रह गरेको छ । कीटाणुको अवस्थाअनुसार यो रोगलाई ‘एमबी’ र ‘पीबी’ गरी दुई भागमा वर्गीकरण गरिएको छ, जसमा बिरामीले क्रमशः १२ महिना र ६ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ ।


सम्बन्धित समाचार