२३ चैत, काठमाडौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा शौचालय खरिददेखि गाडी भाडा र कर्मचारी नियुक्तिसम्ममा व्यापक अनियमितता भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिषद्का तत्कालीन पदाधिकारी र कर्मचारीले मिलेमतोमा सरकारी रकम हिनामिना गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले परिषद्का तत्कालीन अध्यक्ष शालिग्राम सिंह, तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुर, तत्कालीन प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुङ्गाना, लेखापाल सावित्रीकुमारी गिरी, खरिदार मदनकुमार चौधरी सुडी र इसिता ट्रेडर्सका प्रोप्राइटर पशुपतिनाथ पाठकविरुद्ध मुद्दा चलाएको हो ।
आर्थिक वर्ष २०७६/७७ मा दुई थान ‘बायो घुम्ती शौचालय’ खरिद गर्दा ३३ लाख ५० हजार रुपैयाँ पर्ने सामानलाई बढाएर ५५ लाख २ हजार रुपैयाँ पुर्याई झन्डै साढे २१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आयोगको दाबी छ। खरिद ऐनविपरीत प्रतिस्पर्धाबिना सोझै खरिद गरी राज्यकोषमा हानि पुर्याएको आरोपपत्रमा उल्लेख छ । यसबाहेक ५० थान पोर्टेबल शौचालय खरिदमा पनि झन्डै ५५ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा सिंहसहित ५ जनाविरुद्ध अर्को मुद्दा समेत दायर गरिएको छ ।
तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरले परिषद्को बजेट र कमिसनको रकमबाट निजी प्रयोगका लागि स्कार्पियो गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको छ । उनले बा.१३च.२०३७ नम्बरको गाडी खरिद गरी पत्नी इन्दुलेखाकुमारी ठाकुरको नाममा पास गराएका थिए । यसका लागि उनले गाडीधनी मुकेश यादवसँग कीर्ते गाडी भाडा सम्झौता गरी १० लाख रुपैयाँको चेक काटेर सिधै गाडी विक्रेताको खातामा जम्मा गराएको पाइएको छ ।
मधेश प्रदेश सरकारबाट यात्री निवास मर्मतका लागि प्राप्त ९० लाख रुपैयाँमा पनि अनियमितता भएको छ । सम्झौता भएको दुई दिनमै ४५ लाख रुपैयाँ पेस्की दिएर त्यसबाट कमिसन असुलिएको आयोगको ठहर छ ।
यसैगरी, परिषद्मा विगत १४ वर्षदेखि नियमावली स्वीकृत नगरी कर्मचारी भर्ना गरी तलब खुवाइएको विषयमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय ती कर्मचारीले कामै नगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सिधै तलब बुझिरहेको पाइएपछि आयोगले यसलाई गम्भीरतापूर्वक लिएको छ। परिषद्भित्रको यो सेटिङले सरकारी निकायमा हुने संस्थागत भ्रष्टाचारको नाङ्गो तस्विर सार्वजनिक गरेको छ ।

















