Logo

२४ चैत, वीरगञ्ज । ‘जेन जी यूथ फोर्स’ पर्साले संगठनको नाममा भ्रामक रूपमा नयाँ जिल्ला समिति गठन गर्न खोजिएको भन्दै गम्भीर आपत्ति जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले केही व्यक्तिहरूले राजनीतिक स्वार्थका लागि सामाजिक सञ्जालमार्फत फैलाएको प्रचार पूर्णतः असत्य र भ्रमपूर्ण रहेको स्पष्ट पारेको हो ।

विज्ञप्तिअनुसार पर्सा जिल्ला समिति पहिले नै विधिवत् रूपमा गठन भइसकेको अवस्थामा “नयाँ समिति गठन गर्दैछु” भन्नु केवल राजनीतिक चलखेल र संगठनको नाम दुरुपयोग गर्ने प्रयास मात्र हो । संगठनले आफूलाई अभियानको अगुवा दाबी गर्ने केही व्यक्तिहरू वास्तविक ‘जेन जी’ उमेर समूह मै नपर्ने र गत भदौ २३ गतेको आन्दोलनमा समेत सहभागी नभएको खुलासा गरेको छ ।

जेन जी यूथ फोर्स पर्साले आधिकारिक रूपमा भदौ २३ गते नै आन्दोलन फिर्ता भइसकेको स्मरण गराउँदै भदौ २४ गते भएका उच्छृङ्खल गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट पारेको छ । “भदौ २४ गते सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने कार्यमा संलग्न व्यक्तिहरू स्वयं जिम्मेवार रहनेछन्, उनीहरूसँग संगठनको कुनै सम्बन्ध छैन,” विज्ञप्तिमा उल्लेख छ ।

संगठनले आन्दोलनलाई व्यक्तिगत लाभ वा राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन खोज्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिएको छ । आफूहरू सधैँ शान्तिपूर्ण, जिम्मेवार र सकारात्मक सामाजिक परिवर्तनको पक्षमा रहेको जनाउँदै संगठनको नाम बदनाम गर्ने प्रयास गरिए कडा विरोधमा उत्रिने र आवश्यक कानुनी कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

अपरिचित र गैर-जिम्मेवार व्यक्तिहरूले फैलाएका यस्ता भ्रामक सूचनाको पछाडि नलाग्न संगठनले आम सर्वसाधारण र युवाहरूमा अपिल गरेको छ ।


सम्बन्धित समाचार