Logo

२४ चैत, काठमाडौँ । इरान र अमेरिकाबीच बढ्दो तनाव कम गर्न मध्यस्थकर्ताहरूले अघि सारेको ४५ दिने अस्थायी युद्धविरामको प्रस्ताव इरानले अस्वीकार गरेको छ। इजिप्ट, पाकिस्तान र टर्किएका मध्यस्थकर्ताहरूले संयुक्त रूपमा तयार पारेको ‘इस्लामावाद सम्झौता’ नाम दिइएको उक्त मस्यौदा प्रस्तावलाई तेहरानले आफ्नो सुरक्षा स्वार्थविपरीत रहेको ठहर गरेको हो ।

पाकिस्तानी नेतृत्वको मध्यस्थकर्ता टोलीले हिजो पठाएको प्रस्तावमा रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग खोल्ने र ४५ दिनका लागि युद्धविराम गर्ने उल्लेख थियो। इरानी विदेशमन्त्री अब्बास अराग्चीमार्फत पठाइएको उक्त प्रस्तावलाई इरानले शङ्काको दृष्टिले हेर्दै युद्धविरामको समयमा अमेरिकाले आफूविरुद्ध थप सैन्य तयारी गर्न सक्ने आशङ्का व्यक्त गरेको छ। इरानले यसअघि नै आर्थिक क्षतिपूर्ति र पुनः आक्रमण नगर्ने पूर्ण ग्यारेन्टी नभएसम्म युद्ध नरोकिने अडान राख्दै आएको छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कडा चेतावनी दिँदै भोलि बिहानसम्म हर्मुज जलमार्ग खोल्न इरानलाई अल्टिमेटम दिएका छन् । ट्रम्पले युद्धविरामको प्रस्तावमाथि अध्ययन भइरहेको बताए पनि अमेरिकी समाचार संस्था सीएनएनका अनुसार ह्वाइट हाउसले पनि हालसम्म यस प्रस्तावमा औपचारिक स्वीकृति दिएको छैन । अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकफमार्फत यो प्रस्ताव अघि बढाइए पनि दुवै पक्षबीचको गहिरो अविश्वासका कारण सहमतिको सम्भावना तत्कालका लागि टरेको देखिएको छ ।

विश्वकै प्रमुख तेल आपूर्ति मार्ग मानिने हर्मुज जलमार्ग बन्द हुँदा विश्व अर्थतन्त्रमै असर पर्न थालेपछि अन्तर्राष्ट्रिय समुदायले दबाब बढाएका छन् । तर, मध्यस्थकर्ताहरूको ‘इस्लामावाद सम्झौता’ लाई दुवै पक्षले अस्वीकार गरेपछि मध्यपूर्वमा युद्धको खतरा थप टरेको छैन ।


सम्बन्धित समाचार