२९ चैत,काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बहुप्रतिक्षित उच्चस्तरीय वार्ता कुनै ठोस सम्झौता बिना नै टुङ्गिएको छ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा २१ घण्टा लामो ‘म्याराथन वार्ता’ भए पनि दुवै पक्षबीच सहमति जुट्न सकेन।
वार्तापछि आयोजित पत्रकार सम्मेलनमा जेडी भान्सले इरानलाई “अन्तिम र सर्वोत्कृष्ट प्रस्ताव” प्रस्तुत गरिएको बताए। उनले भने, “हामीले स्पष्ट प्रस्ताव दिएका छौँ, अब यसलाई स्वीकार गर्ने वा नगर्ने निर्णय इरानकै हातमा छ।”
शनिबार सुरु भएको वार्ता आइतबार बिहानसम्म चलेको थियो। उपराष्ट्रपति भान्सले २१ घण्टासम्म निरन्तर प्रयास हुँदाहुँदै पनि सहमति नजुटेकोमा दुःख व्यक्त गर्दै इरानले अमेरिकी शर्तहरू स्वीकार गर्न नमानेको आरोप लगाए।
वार्ताको आयोजना तथा व्यवस्थापनमा भूमिका खेलेका शहबाज सरिफ र आसिम मुनिरप्रति उनले आभार व्यक्त गर्दै वार्ता असफल हुनुमा पाकिस्तानको कुनै कमजोरी नरहेको स्पष्ट पारे।
यसैबीच, डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट प्रतिक्रिया दिँदै इरानसँग सम्झौता भए वा नभए पनि आफूलाई ठूलो फरक नपर्ने बताए। उनले अमेरिकी सेनाले इरानको सैन्य संरचना र नेतृत्वमा उल्लेख्य क्षति पुर्याइसकेको दाबी समेत गरे।
अर्कोतर्फ, अमेरिकी सेन्ट्रल कमाण्डले होर्मुज जलसन्धिमा राखिएका बारुदी सुरुङ हटाउने कार्य सुरु गरिएको र दुई अमेरिकी युद्धपोत सुरक्षित रूपमा उक्त क्षेत्र पार गरिसकेको जनाएको छ। तर, इरानले यस दाबीको खण्डन गर्दै जलक्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण कायम रहेको जनाएको छ।
वार्ताका क्रममा इरानले युद्धविराममा लेबनानलाई पनि समावेश गर्नुपर्ने शर्त अघि सारेको थियो। यस सन्दर्भमा बेन्जामिन नेतन्याहुले लेबनानसँग शान्ति वार्ताका लागि सैद्धान्तिक सहमति जनाएका छन्। तर, उनले हिजबुल्लाहको निशस्त्रीकरण र इरानमा रहेको संवर्द्धित युरेनियम नष्ट गरिनुपर्ने आफ्नो अडान दोहोर्याएका छन्।
इस्लामावाद वार्ता निष्कर्षविहीन बनेसँगै अब मध्यपूर्व क्षेत्रको सुरक्षा अवस्था र सम्भावित द्वन्द्वको दिशाबारे अन्तर्राष्ट्रिय समुदायको चासो थप बढेको छ।


















