३० चैत,वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरी बलको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्।
वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर चोक नजिक सोमबार बिहान सशस्त्र प्रहरी बलको ना.१ झ १५३१ नम्बरको स्कार्पियो गाडीले प्रदेश २–००१–प १६२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा वीरगञ्ज–३२ चोर्नी निवासी दिपेन्द्र श्रीवास्तव घाइते भएका छन्। उनको हाल नारायणी अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन निरौलाले जानकारी दिएका छन्।
स्थानीयका अनुसार ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको हो। केही प्रत्यक्षदर्शीले गाडीले जानाजान जस्तो गरी ठक्कर दिएको आरोप समेत लगाएका छन्।
घटनापछि स्थानीयले प्रशासनलाई जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। तर घटनास्थलमा खटिएका प्रहरी अधिकृतले स्थानीयसँग कडा व्यवहार गरेको आरोपसमेत स्थानीयले लगाएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















