Logo

१ बैशाख, काठमाडौँ । पाकिस्तानले इरान र अमेरिकाबीचको थाती रहेको वार्ता प्रक्रिया चाँडै पुनः सुरु हुन सक्ने जनाएको छ । दुई देशबीचको सैन्य तनावका बीच कायम रहेको युद्धविराम र पछिल्लो सकारात्मक विकसित घटनाक्रमले संवादको अर्को चरणका लागि ढोका खोलेको पाकिस्तानको दाबी छ ।

पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले हालको युद्धविरामले वार्ताका लागि अनुकूल वातावरण तयार पारेको बताएका छन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले पनि संवाद नै समस्याको एक मात्र समाधान भएको उल्लेख गर्दै युद्धविरामले त्यसका लागि आधार तय गरेको बताएका थिए । इस्लामावादले दुई चिर प्रतिद्वन्द्वी राष्ट्रबीच मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ ।

कूटनीतिक पहल जारी रहे पनि इरान र अमेरिकाबीच मुख्य विवादको विषय बनेको ‘युरेनियम संवर्धन’ मा भने अझै ठोस सहमति जुट्न सकेको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले आफ्नो परमाणु संवर्धनलाई पाँच वर्षका लागि रोक्ने प्रस्ताव अघि सारेको छ । तर, अमेरिकाले भने कम्तीमा २० वर्षसम्म यस्तो गतिविधि रोकिनुपर्ने अडान राखेको छ। यही समयसीमाको मतभेदका कारण अघिल्लो चरणको वार्ता बिना निष्कर्ष टुङ्गिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार हासिल गर्न नदिने आफ्नो पुरानो प्रतिबद्धता पुनः दोहोर्‍याएका छन् । ट्रम्प प्रशासनले इरानको परमाणु महत्त्वाकाङ्क्षालाई विश्व सुरक्षाका लागि मुख्य चुनौती मान्दै आएको छ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानमाथि समुद्री मार्गमा अवरोध सिर्जना गरेको गम्भीर आरोप लगाएका छन् । सामरिक महत्त्वको जलमार्गमा इरानले गर्ने कुनै पनि हस्तक्षेपका विरुद्ध अमेरिकाले आवश्यक परे कडा सैन्य कदम चाल्ने सङ्केत भेन्सले दिएका छन् । एकातिर वार्ताको तयारी र अर्कोतिर सैन्य चेतावनीले पश्चिम एसियाको राजनीति अझै पनि अनिश्चित र तरल देखिएको छ ।


सम्बन्धित समाचार