Logo

१ वैशाख,काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले राज्यपालसमक्ष राजीनामा बुझाएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

राजीनामाको पुष्टि गर्दै उनले सबैप्रति धन्यवाद व्यक्त गरेका छन् भने आगामी सरकारलाई पूर्ण सहयोग र मार्गनिर्देशन गर्ने प्रतिबद्धता जनाएका छन् ।

नितिश कुमारले आफ्नो कार्यकाल सम्झँदै सन् २००५ देखि राज्यमा कानुनको शासन स्थापना गर्दै विकासका विभिन्न क्षेत्रमा काम गरेको दाबी गरेका छन् । शिक्षा, स्वास्थ्य, विद्युत्, कृषि लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति भएको उनले बताएका छन् । साथै महिला र युवाको सशक्तीकरणका लागि पनि महत्वपूर्ण पहल गरिएको उनको भनाइ छ ।

नितिश कुमार हालै बिहारबाट राज्यसभामा निर्वाचित भइसकेका छन् र सांसदको शपथसमेत लिइसकेका छन् । उनी पछिल्लो समय भारतीय जनता पार्टी (बिजेपी)को समर्थनमा मुख्यमन्त्री पदमा रहेका थिए ।

उनको राजीनामासँगै बिहारमा पहिलोपटक बिजेपीको नेतृत्वमा सरकार गठन हुने तयारी भएको छ । नयाँ मुख्यमन्त्रीका रूपमा सम्राट चौधरीको नाम अघि सारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नितिश कुमारले बिहारको राजनीतिमा लामो समय नेतृत्व गरेका छन् । उनी पहिलोपटक सन् २००० मा अल्पकालीन रूपमा मुख्यमन्त्री बनेका थिए भने त्यसपछि विभिन्न कार्यकालमा गरी लामो समयसम्म उक्त पदमा रहेर आज राजीनामा दिएका हुन् ।


सम्बन्धित समाचार