२ बैशाख, काठमाडौँ । रोजगारीको खोजीमा बंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको एउटा जोखिमपूर्ण डुङ्गा हिन्द महासागरको अण्डमान सागरमा दुर्घटनाग्रस्त भएको छ । क्षमताभन्दा बढी भार र खराब मौसमका कारण भएको उक्त दुर्घटनामा २५० जना रोहिङ्ग्या तथा बंगलादेशी नागरिक बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीले यसबारे पुष्टि गर्दै ठूलो मानवीय क्षतिको आशंका व्यक्त गरेको छ ।
माछा मार्न प्रयोग गरिने उक्त सामान्य डुङ्गा तीव्र गतिको हावा र समुद्री छालका कारण समुद्रमा डुबेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ। बंगलादेश कोस्ट गार्डले ९ अप्रिलमा एउटा जहाजमार्फत समुद्रमा छटपटाइरहेका नौ जनाको जीवितै उद्धार गरेको थियो ।
उद्धार गरिएका मध्येका एक ४० वर्षीय रफिकुल इस्लामले आफू ३६ घण्टासम्म समुद्रमा तैरिएर बाँच्न सफल भएको र मलेशियामा राम्रो नोकरी पाउने आशमा यो ज्यानमारा यात्रा रोजेको बताएका छन् ।
म्यानमारको अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्ग्याहरू सन् २०१७ को हिंसापछि ठूलो संख्यामा बंगलादेशमा शरण लिइरहेका छन् । म्यानमारले नागरिकता नदिएको र बंगलादेशका शरणार्थी शिविरको अवस्था दयनीय रहेका कारण कयौँ शरणार्थीहरू लुकिछिपी जोखिमयुक्त समुद्री बाटो हुँदै मलेशिया र इन्डोनेसिया जाने गर्दछन् ।
यो पछिल्लो घटनाले समुद्रमा शरणार्थीहरूले भोग्दै आएको असुरक्षा र मानवीय संकटलाई पुनः विश्व समुदायसामु छर्लङ्ग पारेको छ । स्थानीय प्रशासन र उद्धार टोलीले बेपत्ताहरूको खोजी जारी राखे पनि प्रतिकूल मौसमका कारण सफलता मिल्न सकेको छैन ।


















