२ वैशाख,काठमाडौं । इजरायल र लेबनानबीच अमेरिकाको मध्यस्थतामा वासिङ्टनमा उच्चस्तरीय प्रत्यक्ष वार्ता सम्पन्न भएको छ। सन् १९९३ यताकै यो पहिलो औपचारिक प्रत्यक्ष संवादलाई मध्यपूर्व शान्ति प्रक्रियामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अमेरिकी विदेशमन्त्री Marco Rubio को मध्यस्थतामा भएको करिब दुई घण्टा लामो बैठकमा दुवै देशका राजदूतहरू सहभागी थिए। वार्तामा शान्ति सम्झौताका लागि थप प्रत्यक्ष संवाद अघि बढाउने सहमति भएको छ।
यो वार्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि युद्ध कम गर्न दबाब दिएपछि सम्भव भएको बताइएको छ। यसअघि इजरायलले लेबनानसँग प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गर्दै आएको थियो।
बैठकको मुख्य एजेन्डा लेबनानमा हिजबुल्लाहको प्रभाव घटाउने, उसलाई निशस्त्रीकरण गर्ने र लेबनानी सरकारलाई सुदृढ बनाउने रहेको अधिकारीहरूले जनाएका छन्।
लेबनानी राजदूत नादा हमादेहले तत्काल युद्धविरामको आवश्यकता औंल्याउँदै सन् २०२४ नोभेम्बरको सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन्। उनले देशमा बढ्दो मानवीय संकट समाधानका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइन्।
इजरायली राजदूत येचिएल लेइटरले हिजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी रहने बताउँदै, यसलाई लेबनानलाई हिजबुल्लाहको प्रभावबाट मुक्त गर्ने साझा लक्ष्यका रूपमा व्याख्या गरे।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा कुनै पनि युद्धविराम सम्झौता बाह्य दबाबमा नभई अमेरिका मध्यस्थ रहेको प्रत्यक्ष वार्ताबाट मात्र अघि बढाइने स्पष्ट गरिएको छ।
यसबीच इरान र केही क्षेत्रीय मध्यस्थकर्ताले युद्धविराम विस्तारको दाबी गरे पनि अमेरिका र इजरायलले त्यसलाई अस्वीकार गरेका छन्।
विश्लेषकहरूले यो वार्तालाई इजरायल–लेबनान सीमा विवाद समाधान, सुरक्षा सम्झौता र दीर्घकालीन शान्ति प्रक्रियातर्फको महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।


















