Logo

३ वैशाख,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. चुमनलाल दास पुनः फर्किने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नीति योजना महाशाखामा कार्यरत रहेका उनलाई काज फिर्ता गर्दै फेरि नारायणी अस्पतालमा खटाएको हो।

यसअघि पनि २०८१ असोजको पहिलो साता डा. दासलाई सोही अस्पतालको मेसुको जिम्मेवारी दिइएको थियो। करिब एक वर्ष उक्त जिम्मेवारी सम्हालेपछि उनलाई मन्त्रालयमा सरुवा गरी नीति योजना महाशाखामा पठाइएको थियो।

बिहीबार मन्त्रालयले एघारौँ तहका उच्च कर्मचारीहरूको सरुवा, पदस्थापन तथा काज फिर्ता गर्ने क्रममा डा. दासलाई पुनः नारायणी अस्पताल पठाउने निर्णय गरेको हो। सोही दिन स्वास्थ्य मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयका तीन महत्वपूर्ण महाशाखाका नेतृत्वमा पनि हेरफेर गरिएको छ।

यसअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने तथा हालै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मा मन्त्रालयमा ल्याइएका छन्। तर उनीहरूलाई कुन महाशाखाको जिम्मेवारी दिने भन्ने विषयमा औपचारिक निर्णय अझै हुन बाँकी रहेको बताइएको छ।

त्यसैगरी स्वास्थ्य समन्वय महाशाखाका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य रोगसम्बन्धी प्रयोगशालामा सरुवा गरिएको छ भने गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ।

यस्तै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेललाई गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको भए पनि हालका लागि उनी बोर्डमै रहेर जिम्मेवारी निर्वाह गर्नेछन्।

मन्त्रालयले कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यी सरुवा तथा जिम्मेवारी हेरफेर गरेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै