Logo

५ वैशाख, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जालको प्रयोगमार्फत स्वास्थ्यसम्बन्धी परामर्श वा उपचारसम्बन्धी सल्लाह नदिन कडा निर्देशन जारी गरेको छ । पछिल्लो समय फेसबुक, टिकटक र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ को नाममा चिकित्सकहरूले उपचार विधि, औषधिको प्रयोग र स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम बढेपछि काउन्सिलले यस्तो कदम चालेको हो ।

काउन्सिलले सूचना जारी गर्दै सामाजिक सञ्जालका यस्ता सामग्रीले बिरामीमा गलत बुझाइ सिर्जना गर्ने र आफैं औषधि प्रयोग गर्ने (Self-Medication) प्रवृत्ति बढाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । अनलाइनको भरमा मात्र गरिने उपचार र परामर्शले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन भनेको छ ।

स्वास्थ्यसम्बन्धी कुनै पनि जानकारी वा परामर्श वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेसागत आचारसंहिताको दायराभित्र रहेर मात्र दिनुपर्ने काउन्सिलको भनाइ छ । काउन्सिलले स्पष्ट पारेको छ, “चिकित्सकीय निर्णय सामाजिक सञ्जालको जानकारीका आधारमा नभई बिरामीको प्रत्यक्ष परीक्षण र प्रमाणित उपचार पद्धतिका आधारमा मात्र गरिनुपर्छ।”

काउन्सिलको मापदण्ड र निर्देशनलाई बेवास्ता गर्दै जथाभाबी परामर्श दिने चिकित्सक वा स्वास्थ्यकर्मीमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ । चिकित्सकहरूलाई आफ्नो पेसागत मर्यादा र आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलले पुनः सचेत गराएको छ ।


सम्बन्धित समाचार
भर्खरै