५ वैशाख,काठमाडौं । ट्रायल पास गरी राजस्व बुझाइसकेका सेवाग्राहीलाई अब २४ घण्टाभित्रै चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउने नयाँ व्यवस्था सरकारले लागू गरेको छ। लामो समयदेखि देखिँदै आएको ढिलाइ, प्रशासनिक जटिलता र लाखौँ लाइसेन्स थुप्रिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित यो प्रणाली लागू गरिएको हो।
सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभाग बीचको सहकार्यमा तयार गरिएको कार्ययोजना दुई चरणमा कार्यान्वयन हुनेछ।
पहिलो चरणअनुसार, ट्रायल पास गरी राजस्व बुझाएका सेवाग्राहीको विवरण विभागबाट प्राप्त भएको २४ घण्टाभित्रै मुद्रण केन्द्रले लाइसेन्स छापेर हस्तान्तरण गर्नेछ। यसले अब नयाँ सेवाग्राहीलाई लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।
दोस्रो चरणमा पछिल्ला तीन वर्षदेखि थुप्रिएका करिब २९ लाख लाइसेन्स छपाइ गर्ने लक्ष्य राखिएको छ। सबै लाइसेन्स असार मसान्तभित्र छापेर वितरण गर्ने तयारी गरिएको छ। यससँगै ‘पेन्डिङ स्लिप’ बोकेर बस्नुपर्ने अवस्था पनि अन्त्य हुने सरकारको अपेक्षा छ।
हाल दैनिक करिब ४० हजार लाइसेन्स छपाइ भइरहेको छ। पुराना उपकरणलाई पुनः सञ्चालनमा ल्याएर र आवश्यक प्राविधिक सहयोग लिएर उत्पादन प्रक्रिया अघि बढाइएको छ।
प्राविधिक र कच्चा पदार्थ सम्बन्धी प्रारम्भिक समस्या समाधान भइसकेको र अब प्रक्रिया नियमित रूपमा अघि बढ्ने बताइएको छ। प्रणालीअनुसार एक दिन प्राप्त डाटा अर्को दिनमै प्रिन्ट गरी विभागलाई हस्तान्तरण गरिन्छ।
सरकारले यो प्रणाली सफल भएमा आगामी साउन १ गतेदेखि लाइसेन्स वितरण पूर्ण रूपमा छिटो, डिजिटल र झन्झटरहित हुने अपेक्षा गरेको छ। साथै भविष्यमा हुलाक सेवा विभागमार्फत घरमै लाइसेन्स पुर्याउने प्रणालीसमेत विस्तार गर्ने तयारी भइरहेको छ।

















