Logo

यो एआईको सहयोगबाट तयार पारिएको फोटो हो ।

६ वैशाख, कलैया (बारा) । बाराको कोल्हवी नगरपालिका–५, सोनाभारमा शनिबार साँझ चट्याङ लागेर एक युवकको ज्यान गएको छ । खेतमा काम सकेर घर फर्किने क्रममा स्थानीय जनक चौधरीका छोरा ३६ वर्षीय लुटावन चौधरीको चट्याङको चपेटामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, शनिबार बेलुका एक्कासी मौसममा आएको बदलीसँगै वर्षा सुरु भएको थियो । सोही क्रममा ठूलो आवाजसहित परेको चट्याङले लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको जानकारी पाउनासाथ स्थानीय र प्रहरी परिचालन गरिएको थियो । प्रहरीले मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

पछिल्लो समय मनसुन पूर्वको समय र बेमौसमी वर्षासँगै चट्याङका कारण हुने मानवीय क्षति बढ्दै गएको छ। चट्याङ प्राकृतिक विपद् भएकाले मौसममा खराबी आउँदा वा आकाश गर्जिँदा विशेष सतर्कता अपनाउन सरोकारवाला निकायहरूले आग्रह गरेका छन् । खेतबारीमा काम गर्दा वा खुल्ला स्थानमा रहँदा चट्याङबाट बच्ने उपायहरू अपनाउन प्रशासनले समेत सर्वसाधारणलाई सचेत गराउँदै आएको छ ।


सम्बन्धित समाचार
भर्खरै