९ वैशाख, चितवन । धार्मिक आस्था र पर्यटनको अनुपम संगम बनेको चितवनको भरतपुर महानगरपालिका–११ स्थित गणेशधाममा ‘मङ्गल चौथी’को अवसरमा मंगलबार श्रद्धालुहरूको विशाल उपस्थिति देखिएको छ । भगवान गणेशप्रति गहिरो आस्था राख्ने हजारौँ भक्तजनहरूको घुइँचोले गर्दा धाम क्षेत्र दिनभर गुन्जायमान बनेको थियो ।
चितवनसहित छिमेकी जिल्लाहरू तनहुँ, नवलपरासी लगायतका स्थानबाट आएका भक्तजनहरूको ओइरोले गर्दा मन्दिर परिसरमा विशेष रौनक छाएको थियो । बिहानैदेखि लामबद्ध भई महिला तथा पुरुष श्रद्धालुहरूले विधिपूर्वक पूजाआजा तथा व्रत लिँदै परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । विशेषगरी मङ्गल चौथीका दिन गणेश मन्दिरमा पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण पनि भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको स्थानीयले बताएका छन् ।
गणेशधाम संरक्षण तथा संवर्द्धन समितिका महासचिव नवराज ढकालले गणेशधामप्रति बढ्दो जनआस्थाले धार्मिक पर्यटनको ठूलो ढोका खोलेको बताए । उनले भने, “प्रत्येक वर्ष भक्तजनको सहभागिता बढ्दै जानुले यो क्षेत्रको महत्व बढ्दै गएको पुष्टि हुन्छ । मङ्गल चौथीजस्ता पर्वमा टाढा–टाढाबाट आउने भक्तजनले यहाँको धार्मिक महत्वलाई मात्र होइन, पर्यटकीय सम्भावनालाई पनि थप सशक्त बनाएका छन् ।”

गणेशधाम केवल धार्मिक अनुष्ठानको थलो मात्र नभई एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा समेत स्थापित हुँदै गएको छ । यहाँको पुरातात्विक महत्व, ऐतिहासिक पृष्ठभूमि र हरियालीयुक्त प्राकृतिक वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । धार्मिक गतिविधिसँगै सांस्कृतिक सम्पदाको जगेर्ना र पर्यटन प्रवर्द्धनलाई सँगसँगै लैजाँदा स्थानीय अर्थतन्त्र र क्षेत्रको समग्र विकासमा सकारात्मक प्रभाव पर्न थालेको सरोकारवालाहरूको भनाइ छ ।
स्थानीयवासी तथा संरक्षण समितिका पदाधिकारीहरूले गणेशधामलाई व्यवस्थित बनाउँदै थप प्रचार-प्रसार गर्न सके, यो क्षेत्र राष्ट्रिय स्तरकै धार्मिक पर्यटनको उत्कृष्ट केन्द्रका रूपमा स्थापित हुनेमा विश्वस्त छन् । मङ्गल चौथीको भिडभाडले पनि यस धामले चितवनको धार्मिक पर्यटनमा पारिरहेको प्रभावलाई स्पष्ट पारेको छ ।


















