Logo

१० वैशाख,काठमाडौं । इरानले अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै महत्त्वपूर्ण तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान लिएको छ। युद्धविराम लम्बिए पनि उल्लङ्घन भइरहेको आरोप लगाउँदै इरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको र दुई विदेशी जहाज नियन्त्रणमा लिएको जनाएको छ।

इरानी पक्षका अनुसार हालको अवस्थाले युद्धविरामको अर्थ कमजोर बनाएको भन्दै होर्मुज जलडमरूमध्य खुला गर्ने अवस्था नरहेको स्पष्ट पारिएको छ। इरानको संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले नाकाबन्दी कायम रहँदासम्म समुद्री मार्ग खुला नगर्ने बताएका छन्।

यसैबीच क्षेत्रीय तनाव चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामलाई केही समय कायम राख्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्ताको प्रयास अघि बढाइने बताएका छन्। इरानले पाकिस्तानको पहललाई स्वागत गरे पनि अमेरिकी घोषणाबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा तनाव थपिएको छ भने तेल बजारमा अस्थिरता देखिएको छ। युद्ध फेरि भड्किने आशंकाबीच मूल्यमा उतारचढाव भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज हुँदै जाने दुई जहाज नियन्त्रणमा लिएको पुष्टि गरेको छ। उक्त घटनालाई विभिन्न देशहरूले समुद्री सुरक्षामाथिको गम्भीर चुनौतीका रूपमा व्याख्या गरेका छन्।

अमेरिकी पक्षले भने आर्थिक दबाबमार्फत इरानलाई वार्तामा ल्याउने रणनीति अपनाइरहेको बताइएको छ। यता इरानले होर्मुज हुँदै आवतजावत गर्ने जहाजका लागि अनुमति अनिवार्य गरेको छ, जसले अन्तर्राष्ट्रिय तेल आपूर्तिमा थप जोखिम बढाएको छ।

क्षेत्रीय रूपमा इजरायल–लेबनान सीमामा पनि तनाव जारी रहेको छ। युद्धविरामको बाबजुद आक्रमण र झडपका घटनामा थप मानवीय क्षति भएको रिपोर्ट सार्वजनिक भएको छ।


सम्बन्धित समाचार