Logo

११ वैशाख,काठमाडौं । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन्। उनी वैशाख १७ गते भारतबाट सिधै नेपाल आउने र करिब चार दिन बस्ने कार्यक्रम रहेको बताइएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीमध्ये एक मानिने गोरको नेपाल भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

उनको भ्रमणका सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग छलफल गरेको स्रोतले जनाएको छ। उक्त भेटमा सर्जियोको नेपाल भ्रमण तयारीबारे कुराकानी भएको बताइएको छ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग जेठ १ गते भेट्ने सम्भावित कार्यतालिका रहेको चर्चा भए पनि प्रधानमन्त्री कार्यालयले भने अहिलेसम्म कुनै औपचारिक भेट निश्चित नभएको स्पष्ट पारेको छ।

यसअघि नेपाल भ्रमणमा आएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री एस. पॉल कपुरले पनि प्रधानमन्त्रीसँग भेट्ने प्रयास गरेका थिए तर समय नपाएको बताइएको थियो।

नेपालस्थित अमेरिकी राजदूत डिन थम्पसन फिर्ता भएपछि भारतका लागि अमेरिकी राजदूत गोरले नै नेपाल मामिला हेर्दै आएका छन्। हाल नेपालमा स्थायी अमेरिकी राजदूत छैनन्।

कूटनीतिक वृत्तका जानकारहरूका अनुसार सर्जियो गोरको भ्रमण सामान्य राजदूतस्तरीय नभई उच्च राजनीतिक सन्देशसहितको हुन सक्ने र यसले नेपाल–अमेरिका सम्बन्धमा थप चासो उत्पन्न गराउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार