१२ वैशाख,वीरगञ्ज ।जिल्ला समन्वय समिति पर्साका बहालवाला सभापति निरञ्जन प्रसाद सोनार (अजय) सहित एकै परिवारका पाँच जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’ सम्बन्धी मुद्दामा पक्राउ अनुमति जारी भएपछि पर्साको राजनीतिक तथा प्रशासनिक वृत्तमा सनसनी फैलिएको छ।
पर्सा जिल्ला अदालतले मिति २०८३/०१/०७ मा जिल्ला प्रहरी कार्यालय पर्साको नाममा पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई तत्काल नियन्त्रणमा लिन आदेश दिएको हो। तर आदेश जारी भएको चार दिन बितिसक्दा पनि अभियुक्तहरू पक्राउ नपरेको र उनीहरू सहरमै खुलेआम हिँडिरहेको आरोप लागेको छ।
अदालतको आदेशअनुसार सभापति सोनारसँगै उनका परिवारका सदस्यहरू त्रिलोकी साह सोनार, सन्तोष उर्फ सुमु प्रसाद सोनार, उत्तम उर्फ दिवस सराफ र महेश उर्फ महेश्वर सराफलाई पनि पक्राउ गर्न अनुमति दिइएको छ।
रामबाबु साह सोनारको जाहेरीका आधारमा दर्ता भएको ‘ज्यान मार्ने उद्योग’ मुद्दामा उनीहरूको संलग्नता देखिएको भन्दै अदालतले तत्काल पक्राउ नगरे प्रमाण नष्ट हुन सक्ने तथा अभियुक्त फरार हुन सक्ने जोखिमसमेत औंल्याएको छ।
तर पक्राउ अनुमति जारी भइसके पनि अभियुक्तहरू नियन्त्रणमा नआउनुले कानुनी कार्यान्वयनमाथि प्रश्न उठेको पीडित पक्षको आरोप छ। उनीहरूले अदालतको आदेश कार्यान्वयनमा ढिलाइ हुनु गम्भीर विषय भएको बताएका छन्।
यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले भने अभियुक्तहरूको खोजतलास जारी रहेको र आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ। घटनाले स्थानीय स्तरमा कानुनी शासन र सुरक्षा व्यवस्थामाथि गम्भीर बहस उत्पन्न गराएको छ।

















