Logo

१२ वैशाख,काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले बेग्लाबेग्लै भेटवार्ता गरेका छन्। दुवै भेटमा ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

चिनियाँ राजदूतसँगको भेटमा नेपाल–चीनबीच आपसी हितमा आधारित व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताइएको छ। विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उपायबारे दुवै पक्षबीच विचारविमर्श भएको छ।

ऊर्जा र जलस्रोत क्षेत्रलाई आपसी सहयोगको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै साझा समृद्धि र जनहितका लागि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।

त्यसैगरी, भारतका राजदूत नवीन श्रीवास्तवसँगको भेटमा नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। दुवै पक्षले दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउँदै दिगो विकास र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार तथा प्रवर्द्धनमा जोड दिएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी दिनमा निरन्तर संवाद र सहकार्यमार्फत द्विपक्षीय साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

नेपालले दुवै छिमेकी मुलुकसँग ऊर्जा क्षेत्रलाई रणनीतिक सहकार्यको आधारका रूपमा अघि बढाइरहेको पृष्ठभूमिमा यी भेटवार्तालाई महत्वपूर्ण मानिएको छ।


सम्बन्धित समाचार