१३ बैशाख, काठमाडौं । नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले पुराना राजनीतिक दल र नेताहरूको विरोध गर्दा जनता खुसी हुने अवस्था किन आयो भन्नेबारे गम्भीर समीक्षा हुनुपर्ने बताउनुभएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले कांग्रेस(एमालेले ३६ वर्ष र माओवादीले १८ वर्ष सत्ता सञ्चालन गर्दा भएका कमजोरीकै जगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता शक्तिहरूको उदय भएको स्वीकार गर्नुभएको हो ।
जनतामा व्याप्त निराशा र पुराना शक्तिप्रतिको वितृष्णा बिना कारण नआएको भन्दै उहाँले नागरिक संस्थाहरूको परिचालनमा दलहरू चुकेको धारणा राख्नुभयो ।
विश्वभर उदार लोकतन्त्रको असफलतापछि नवउदारवाद र लोकप्रियतावाद अगाडि आएको चर्चा गर्दै पुनले नेपाली राजनीतिमा पनि त्यसको प्रत्यक्ष असर देखिएको दाबी गर्नुभयो । नेपालको लोकप्रियतावाद अल्पसंख्यक र निर्धाहरूप्रति अनुदार बन्दै गएको उहाँको टिप्पणी छ ।
विशेष गरी पछिल्लो समय सुकुम्बासी बस्तीमाथि भइरहेको बल प्रयोगप्रति लक्षित गर्दै पुनले सरकार सहरलाई सम्भ्रान्तहरूको मात्र बनाउन उद्दत देखिएको आरोप लगाउनुभयो। बहुमतको नाममा विपक्षी आवाजलाई निमोठ्ने र प्रतिशोधपूर्ण व्यवहार गर्ने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको तर्क थियो ।
फरक प्रसङ्गमा नेता पुनले उद्योगी–व्यवसायीहरूमाथि सरकारले गरिरहेको धरपकडप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । करदाता र रोजगारदाताका रूपमा रहेका व्यवसायीहरूलाई ‘स्टन्ट’ का लागि पक्राउ गर्ने र प्रमाण नपुगेपछि छाड्ने कार्यले सरकारकै विश्वसनीयता घट्ने उहाँले बताउनुभयो ।
‘पहिले सुन्ने, तथ्यमा पुग्ने अनि मात्र थुन्ने’ प्रक्रिया अपनाउन सरकारलाई आग्रह गर्दै उहाँले व्यवसायीमाथि अपराधीको जस्तो व्यवहार गर्दा लगानीको वातावरण सङ्कुचित हुने चेतावनी दिनुभयो । विगतमा नयाँ शक्तिलाई चन्दा बोकेर सहयोग गर्ने व्यवसायीहरूले अहिलेको धरपकडपछि मात्र वास्तविकता बुझ्न थालेको उहाँको भनाइ थियो।

















