Logo

१३ वैशाख,वीरगञ्ज । रौतहटको गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । गौर–४ गढवा स्थित कुखुरा फर्ममा भएको आगलागी नियन्त्रण गर्न गएको ना.१ ग. ७८८ नम्बरको वारुणयन्त्र गए राति साढे १२ बजे दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते रहेका चालक करिम अन्सारी तथा सुरक्षाकर्मीहरू प्रेम केसरी, किशुन्द्र साहको जिल्ला अस्पताल गौरमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्ज ल्याईएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई ढाड, छाती, टाउको तथा हातखुट्टामा गम्भीर चोट लागेको जिल्ला अस्पताल गौरले जनाएको छ ।सामान्य घाइते रहेका सुरक्षाकर्मी शिवशङ्कर पटेल, नथुनी पासवानको गौर अस्पतालमा उपचार भइरहेको छ ।

अग्नि नियन्त्रक टोली घटनास्थलतर्फ जाने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रौतहटको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशङ्कर यादवले बताए ।

यसैबीच गौर नगरप्रमुख शम्भु साहले वारुणयन्त्र दुर्घटनामा परी घाइते भएका चालकसहित कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्ने बताएका छन् ।


सम्बन्धित समाचार