Logo

१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको महत्वपूर्ण बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु भएको छ ।

सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको भए तापनि केही आन्तरिक तयारी र छलफलका कारण बैठक दिउँसो १ बजे मात्र सुरु हुन सकेको हो । काठमाडौँमा बसिरहेको यस बैठकमा विशेषगरी संसदीय दलको नेता चयनका विषयमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको नाम प्रस्ताव गर्ने कार्यक्रम तय गरिएको छ । शुक्रबार नै निर्वाचन प्रक्रिया स्थगन गरेर सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास भएअनुसार आज सभापतिले साझा नाम अगाडि सार्नुहुनेछ। कार्यसम्पादन समितिमा हुने यो छलफल र प्रस्तावले पार्टीभित्रको शक्ति सन्तुलन र आगामी संसदीय भूमिकाको दिशा तय गर्ने अपेक्षा गरिएको छ ।

कार्यसम्पादन समितिको बैठक समापन भएलगत्तै सभापति थापाले दलको कार्यालयमा पुगेर सांसदहरूसँग नेता छनोटका विषयमा थप परामर्श गर्नुहुनेछ । सभापतिले प्रस्ताव गरेको नामलाई संसदीय दलको विधानको धारा ५ बमोजिम औपचारिक प्रक्रियामा लगेर टुङ्गो लगाउने तयारी पार्टीले गरेको छ ।

लामो समयदेखि देखिएको नेतृत्वको अन्योललाई चिर्न कांग्रेसले आजै दलको नेता चयनको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने लक्ष्य राखेको छ ।


सम्बन्धित समाचार