Logo

१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि जारी रस्साकस्सीका बीच अन्ततः भीष्मराज आङ्देम्बेको नाम प्रस्तावित भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगन थापाले पूर्वसहमहामन्त्री समेत रहनुभएका आङ्देम्बेलाई दलको नेता बनाउने प्रस्ताव औपचारिक रूपमा पेश गर्नुभएको हो ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नेतृत्व तहमा भएको लामो छलफल र सहमतिको प्रयासपछि आङ्देम्बेको नाममा सहमति जुटेको हो ।

यसअघि दलको नेता चयनमा सहजीकरण गर्न उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले विभिन्न आकांक्षीहरूसँग छलफल गरी सहमतिको वातावरण तयार पारेको थियो ।

सोही समितिको सिफारिस र आन्तरिक गृहकार्यका आधारमा सभापति थापाले समानुपातिक तर्फका सांसद आङ्देम्बेलाई जिम्मेवारी दिन प्रस्ताव गर्नुभएको हो । केन्द्रीय कार्यसम्पादन समितिले नाम प्रस्तावित गरे पनि विधानतः सांसदहरूले नै नेता चयन गर्नुपर्ने व्यवस्था रहेको छ ।

दलको नेतालाई वैधानिकता दिन र सर्वसम्मत रूपमा घोषणा गर्न सोमबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूको बैठक बोलाइएको छ ।

कुल ३८ जना सांसद रहेको कांग्रेसमा आङ्देम्बेको नामलाई सर्वसम्मतिले अनुमोदन गर्ने तयारी गरिएको छ । गत शुक्रबारदेखि रोकिएको निर्वाचन प्रक्रियालाई थाँती राख्दै पार्टीभित्रको एकता प्रदर्शन गर्न कांग्रेसले यो सहमतिको बाटो रोजेको देखिन्छ ।


सम्बन्धित समाचार