Logo

१४ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पुरानो बजार क्षेत्रमा प्रस्तावित सडक विस्तार योजनालाई लिएर स्थानीय बासिन्दा, व्यापारी र सरोकारवालाबीच विवाद तीव्र बनेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार वीरगञ्ज–पथलैया सडकखण्डको बजार क्षेत्रमा सडक विस्तार गरी इन्टरसेक्सन सुधार तथा इन्टिग्रेटेड चेकपोस्ट (ICP) सम्मको सवारी आवागमन सहज बनाउने योजना अघि सारिएको हो। तर सो योजनाअन्तर्गत सडकको दायाँ–बायाँ रहेका संरचना हटाउने तयारीप्रति स्थानीयले कडा आपत्ति जनाएका छन्।

स्थानीयवासीले आफ्नो स्वामित्वमा रहेको जग्गा र संरचनालाई ‘अतिक्रमण’ भनेर व्याख्या गरिएको भन्दै आपत्ति जनाउँदै मुआब्जा र क्षतिपूर्ति बिना कुनै पनि संरचना नहटाउन माग गरेका छन्।

उनीहरूका अनुसार पुरानो बजार क्षेत्र ऐतिहासिक, सामाजिक र आर्थिक दृष्टिले महत्वपूर्ण भएकाले सयौँ वर्ष पुराना बस्ती, व्यापारिक प्रतिष्ठान, मठ–मन्दिर तथा विद्यालयहरू प्रभावित हुने खतरा छ। करिब १,५०० घरधुरी र १ लाखभन्दा बढी जनसंख्या प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ।

सरकार पक्षले भने बढ्दो ट्राफिक चाप व्यवस्थापन, सडक सुरक्षामा सुधार र अन्तर्राष्ट्रिय नाका ICP सम्म सहज पहुँचका लागि सडक विस्तार अपरिहार्य रहेको दाबी गर्दै आएको छ।

यता स्थानीयले भने वैकल्पिक मार्ग विकास, उचित क्षतिपूर्ति र पुनर्स्थापना सुनिश्चित नगरी अघि बढाइएको योजना एकतर्फी भएको आरोप लगाएका छन्। उनीहरूले निर्णय पुनर्विचार गर्न र सरोकारवालासँग समन्वय गर्न सरकारसँग माग गरेका छन्।

सरोकार समितिले पटक–पटक ज्ञापनपत्र बुझाउँदै समाधानका लागि पहल गर्न आग्रह गरेको छ भने समस्या समाधान नभए कानुनी बाटो अपनाउने चेतावनी पनि दिएको छ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा सरोकारवालाबीच आयोजित छलफल कार्यक्रममा पूर्वनगरप्रमुख विजय कुमार सरावगी, पूर्व अध्यक्ष ओम प्रकाश सर्राफ, गोपाल केडिया, अधिवक्ता देवेन्द्रलाल नेपाली, नेता अजय द्विवेदी, सुरेन्द्र चौधरीलगायतले आ–आफ्ना धारणा राखेका थिए।

यसैबीच,वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथको मापदण्डअनुसार सडकको केन्द्रविन्दु निर्धारण गर्ने कार्य मंगलबारदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गरेका थिए।


सम्बन्धित समाचार