१५ बैशाख, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो कार्यकाललाई पूर्णतः निष्पक्ष र पारदर्शी बनाउने उद्घोष गर्दै पदमा बहाल रहँदा ‘नगर्ने’ १० कामको प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।
मन्त्री बादीले विशेष गरी राजनीतिक नियुक्ति, सरुवा–बढुवा र जागिरका नाममा हुने नातावाद तथा कृपावादलाई पूर्णतः निषेध गर्ने संकल्प गर्दै शक्तिको दुरुपयोग नगर्ने अठोट लिएकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो कार्यशैली स्पष्ट पार्दै उनले लागूऔषध, ठगी र तस्करीजस्ता गम्भीर अपराधमा संलग्नहरूलाई राजनीतिक संरक्षण नदिने र कानुनको पालनामा कुनै पनि भनसुन वा दबाबलाई स्थान नदिने स्पष्ट पारेकी छन् ।
भ्रष्टाचारविरुद्ध कठोर नीति अख्तियार गर्ने मन्त्री बादीको योजनामा व्यक्तिगत लाभ, कमिसन वा घुस लिने कार्यलाई पूर्णतः बर्जित गरिएको छ । उनले सीमान्तीकृत समुदाय, महिला र बालबालिकामाथि हुने हिंसाका मुद्दामा कुनै पनि सम्झौता नगर्ने बताउँदै राज्यको स्रोत–साधनको मितव्ययितामा समेत विशेष जोड दिएकी छन् ।
आफ्नो कार्यकालमा राज्यले उपलब्ध गराउने क्वार्टर, घरभाडा र कूटनीतिक राहदानी जस्ता विलासी सुविधाहरू समेत नलिने घोषणा गरेर उनले राजकीय सुविधा त्यागको नौलो उदाहरण प्रस्तुत गरेकी छन् ।
नागरिकका दुःखमा प्रत्यक्ष साथ दिने वाचा गर्दै उनले निर्वाचनको समयमा प्राप्त भएको भोट वा राजनीतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगर्ने र सबैलाई समान सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएकी छन् ।
मन्त्री बादीको यो घोषणाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमा उत्तरदायित्व र नैतिकताको नयाँ बहस सिर्जना गरेको छ । उनले आफूले सार्वजनिक गरेका यी बुँदाहरू उल्लंघन भएको पाइएमा खबरदारी गर्न समेत सरोकारवालाहरूलाई आग्रह गरेकी छन् ।

















