Logo

१३ वैशाख,वीरगञ्ज । घर निर्माण गर्ने बहानामा बोलाएर अपहरण गरि फिरौतीको लागि चार लाख रकम माग्ने दुई जनालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ । प्रहरीले अपहरण गरि फिरौती माग्ने रौतहट राजदेवी नगरपालिका– ६ मोहनपुर बस्ने २१ वर्षिय राजा भन्ने राजाबाबु पटेल र दिपेश भन्ने मन्त्रीबाबु रायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुले गत बैशाख ९ गते परोहा नगरपालिका–३ तेजापाकड वस्ने ३० बर्षिय राज कुमार महतो भन्ने हिरामन महतोलाई सर्लाहीको बलरा भन्ने स्थानमा घर बनाउनु छ भनि बलरास्थित रक्सी भट्टी पसलमा लगि ८÷९ जना मिलेर अपहरण गरेका थिए । महतोलाई अपहरण गरि कोठाभित्र बन्धक बनाई पेस्तोल देखाई कुटपिट गर्दै अपहरणकारीहरुले पिडितको घरमा फोन गरि फिरौती वापत चार लाख रुपैया माग गरेको प्रहरीले जनाएको छ ।

अपहरणमा परेका महतोलाई सर्लाहीको बलराबाट भारततर्फ लैजान लागेको सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले बलरा नगरपालिका–३ स्थित नेपाल भारतको सिमाबाट अपहरणकारीहरु मध्ये दुई जनालाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रमुख एसपी विरबहादुर बुढा मगरले बताउनुभयो ।

पिडीतको उद्दार गरिएको तथा पक्राउ परेका उनीहरुलाई अपहरण शरिर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाईएको एसपी मगरले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार