१५ वैशाख,वीरगञ्ज । वीरगञ्जको मुख्य बजार हुँदै गएको त्रिभुवन राजपथअन्तर्गत सडक खण्डमा डोजर चलाइएपछि उत्पन्न अवस्थाको अवलोकन गर्न पूर्वमन्त्री प्रदीप यादवले स्थलगत निरीक्षण गरेका छन्।
सडक डिभिजन कार्यालयले उक्त सडक खण्डलाई दुवैतर्फ २५–२५ मिटर फराकिलो बनाउने काम अघि बढाएसँगै स्थानीय व्यवसायी तथा जग्गाधनीहरू आन्दोलित भइरहेका छन्। यही सन्दर्भमा यादवले प्रभावित क्षेत्र पुगेर उनीहरूसँग प्रत्यक्ष भेटघाट गरेका हुन्।
सडक विस्तारका क्रममा मुख्य बजार क्षेत्रका ठूला व्यापारिक भवन तथा स्थानीयका घरहरू भत्काइएपछि वीरगञ्जको प्रमुख व्यापारिक क्षेत्र अस्तव्यस्त बनेको छ। कतिपय स्थानमा सडक छेउछाउ मलवामा परिणत भएको देखिन्छ। निरीक्षणका क्रममा यादवले मुर्ली, घण्टाघर चौक तथा आदर्शनगरलगायतका क्षेत्रको अवलोकन गरेका थिए।
स्थलगत भ्रमणका क्रममा उनले स्थानीय व्यवसायी तथा जग्गाधनीहरूसँग छलफल गर्दै उनीहरूले भोगिरहेका समस्या, गुनासा र सडक विस्तारका कारण परेको प्रत्यक्ष असरबारे जानकारी लिएका थिए।
कार्यक्रममा मधेश प्रदेशका पूर्व सांसद जन्नत अंसारी, वीरगञ्ज महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल, वडा नं. ९ का वडा अध्यक्ष जवाहर गुप्ता, वडा नं. ३० का वडा अध्यक्ष मनोज यादव, पूर्व वडा अध्यक्ष तुफान अंसारी, औषधि व्यवसायी प्रमोद सर्राफ तथा स्थानीय युवा नेताहरूको उपस्थिति रहेको थियो।
छलफलका क्रममा पूर्वमन्त्री यादवले सडक विस्तारबाट प्रभावित व्यवसायी तथा जग्गाधनीहरूको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

















