Logo

१५ वैशाख,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको छ। प्राकृतिक सुन्दरता, वन्यजन्तुको विविधता र धार्मिक–पर्यटकीय स्थलहरूको उपस्थितिले निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको हो।

सरकारले वि.सं. २०७४ मा नेपालको १२औँ राष्ट्रिय निकुञ्जका रूपमा घोषणा गरेको यो निकुञ्ज पर्सा, बारा र मकवानपुर जिल्लामा फैलिएको छ। निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार अहिले विशेषगरी आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ भने छिमेकी देश भारतबाट पनि पर्यटक आउने क्रम बढ्दो छ।

चालु आर्थिक वर्ष २०८२–८३ को नौ महिनामा कुल ४१३ जना पर्यटक निकुञ्ज भ्रमणका लागि आएका छन्। तीमध्ये १४ जना सार्क राष्ट्रका र एक जना अन्य देशका पर्यटक रहेका छन्। वार्षिक रूपमा करिब एक हजार पर्यटक आउने अनुमान गरिएको छ। विशेषगरी कात्तिकदेखि चैतसम्मको मौसममा पर्यटकको चहलपहल बढी रहने गर्दछ भने वर्षायाममा भ्रमण न्यून हुने गरेको छ।

निकुञ्जभित्र रहेका माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर, कामिनी दह, हलखोरिया दह र लौकी दह जस्ता स्थलहरूले धार्मिक तथा प्राकृतिक पर्यटनलाई थप आकर्षक बनाएका छन्। हरियाली वन, दुर्लभ वन्यजन्तु र हात्ती सफारी पर्यटकका मुख्य रोजाइका गतिविधि बनेका छन्।

पानीको अभाव समाधान गर्न निर्माण गरिएका कृत्रिम पोखरीहरूले वन्यजन्तुको संरक्षणमा सकारात्मक प्रभाव पारेका छन्। हालको गणनाअनुसार निकुञ्जमा पाटेबाघको सङ्ख्या ४१ पुगेको छ। निकुञ्जमा पाटेबाघ, गैँडा, हात्ती, चितुवा, भालु लगायत ३७ प्रजातिका स्तनधारी जनावर, ४९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन्।

पर्यटक अवलोकनका लागि निकुञ्जभित्र करिब एक दर्जन भ्यु टावर निर्माण गरिएको छ। साथै हात्ती सफारीका लागि हात्तीसारमा एक दर्जन हात्ती राखिएको छ भने जिप सफारीको सुविधा पनि उपलब्ध छ।

प्रवेश शुल्कअन्तर्गत नेपाली नागरिकका लागि रु १००, सार्क राष्ट्रका लागि रु ७५० र अन्य विदेशीका लागि रु १,५०० तोकिएको छ। जिप सफारीका लागि रु २,५०० र गाइडका लागि वार्षिक रु १,५०० शुल्क निर्धारण गरिएको छ।

निकुञ्ज प्रशासनले यस क्षेत्रलाई मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिएको जनाएको छ।


सम्बन्धित समाचार