१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय मोर्चालाई थप व्यवस्थित बनाउन नयाँ पदाधिकारी चयन गरेको छ ।
संसदीय दलका नेता भीष्मराज आङदेम्बेले रिक्त रहेका महत्वपूर्ण पदहरूमा नियुक्ति गर्दै वासना थापालाई प्रमुख सचेतक र निश्कल राईलाई सचेतकको जिम्मेवारी सुम्पिनुभएको हो । पार्टीको संसदीय गतिविधि र सदनमा खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यका साथ संसदीय दलको कार्यालयले बुधबार यी मनोनयनहरूको औपचारिक जानकारी दिएको छ ।
यो नियुक्ति कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को व्यवस्था अनुरूप गरिएको हो । विधानको धारा १३ को उपधारा (२) बमोजिम थापालाई प्रमुख सचेतक र उपधारा (३) बमोजिम राईलाई सचेतकको पदमा चयन गरिएको नेता आङदेम्बेले जनाउनुभएको छ ।
सदनमा पार्टीको धारणा प्रष्ट राख्न र सांसदहरूको समन्वयमा यी दुई युवा अनुहारको प्रवेशले संसदीय दललाई नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा कांग्रेस वृत्तमा गरिएको छ ।

















