Logo

१७ वैशाख,वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र गैरकानुनी गतिविधि नगर्न र नगराउन कडा चेतावनी दिएको छ।

बिरामी र स्वास्थ्यकर्मीको स्वीकृतिबिना फोटो तथा भिडियो खिच्ने, अनावश्यक भिडभाड गर्ने र उपचार प्रक्रियामा अवरोध पुऱ्याउने गुनासो बढेपछि मन्त्रालयले यस्तो चेतावनी जारी गरेको हो।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा अस्पताललाई संवेदनशील क्षेत्रको रूपमा उल्लेख गर्दै स्वीकृतिबिना भिडियो बनाउने, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने वा दबाब दिने कार्य स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र मुलुकी अपराध संहिता, २०७४ को ठाडो उल्लङ्घन भएको स्पष्ट पारेको छ।

यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन गर्नुका साथै उपचार प्रक्रियामा नकारात्मक असर पार्ने भएकाले स्वीकृतिबिना फोटो वा भिडियो नखिच्न मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।

विज्ञप्तिमा कानुनविपरीत कार्य गर्नेलाई कडा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिइएको उल्लेख छ। साथै, उपचारमा कुनै त्रुटि भए सम्बन्धित निकायमा उजुरी गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै