Logo

२० वैशाख, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने आफ्ना सदस्यहरूका लागि नयाँ र कडा मापदण्ड ल्याएको छ ।

अब पार्टीको तर्फबाट चुनाव लड्न चाहने जोकोहीले पनि ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी ’ को परीक्षा उत्तीर्ण गर्नैपर्ने अनिवार्य व्यवस्था गरिएको छ । आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले चुनावी तयारीलाई सुव्यवस्थित बनाउन यस्तो नीतिगत निर्णय गरेको हो ।

पार्टी प्रवक्ता मनीष झाका अनुसार, उम्मेदवार छनोट प्रक्रियालाई विधिगत र गुणस्तरीय बनाउन सह-महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले आफ्नो मस्यौदा प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएको छ ।

‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ ’ नाम दिइएको उक्त प्रतिवेदनले नेताहरूको लोकप्रियता मात्र नहेरी उनीहरूको नेतृत्व क्षमता र राजनीतिक सुझबुझलाई पनि प्रमुख आधार बनाउन सिफारिस गरेको छ । बैठकमा चुनावी रूपरेखाका अतिरिक्त महाधिवेशन कार्यविधि–२०८३ र संसदीय दलको विधान संशोधनका विषयमा समेत सघन छलफल भइरहेको छ ।

चुनावी टिकट वितरण गर्ने पुरानो परिपाटीलाई तोड्दै रास्वपाले उम्मेदवार बन्नुअघि निश्चित प्रशिक्षण र योग्यताको खुड्किलो पार गर्नुपर्ने नियम ल्याएपछि यसलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यस्तो अभ्यासले स्थानीय तहमा सक्षम र दक्ष नेतृत्व पुग्ने विश्वास पार्टीले लिएको छ ।


सम्बन्धित समाचार
भर्खरै