वैशाख २१, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता इन्द्रबहादुर बानियाँ यतिबेला गम्भीर कानुनी घेरामा तानिएका छन् ।
अवैध सम्पत्ति आर्जन र व्यवस्थापन गरेको बलियो आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार उनको निजी निवास र व्यावसायिक प्रतिष्ठानहरूमा एकसाथ ‘काउन्टर अपरेसन ’ चलाएको छ ।
विभागको टोलीले हेटौंडाको सानोपोखरास्थित बानियाँको घर र उनको सफल मानिने निर्माण कम्पनी ‘बानियाँ निर्माण सेवा ’ मा छापा मारेर अनुसन्धानका लागि महत्त्वपूर्ण मानिएका कागजातहरू नियन्त्रणमा लिएको छ ।
विभागको यो सक्रियता हेटौंडामा मात्रै सीमित रहेन । स्रोतका अनुसार, मुख्यमन्त्री बानियाँको आर्थिक कारोबार जोडिएका काठमाडौंका नक्साल र सुन्धारास्थित विभिन्न स्थानमा समेत विभागले सुक्ष्म निगरानीसहित छापा मारेको छ ।
पछिल्लो समय उनको जीवनशैली, सम्पत्ति विवरण र व्यावसायिक कारोबारमा अस्वभाविक उत्तारचढाव देखिएपछि विभागले गुपचुप रूपमा अनुसन्धान अगाडि बढाएको बुझिएको छ । छापा मार्ने क्रममा विभागले स्थानीय प्रतिनिधिहरूको रोहबरमा सर्जिमिन मुचुल्का तयार पार्नुका साथै केही थान शंकास्पद प्रमाणहरू समेत संकलन गरेको छ ।
निर्माण व्यवसायीबाट राजनीतिको उचाइमा पुगेका बानियाँमाथि लागेको यो आरोपले राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ । केही वर्षअघिसम्म निर्माण क्षेत्रमा सक्रिय रहेका उनले राजनीतिमा आएपछि आफ्नो व्यवसाय र शक्तिको आडमा अवैध धन लुकाएको हुनसक्ने विभागको प्रारम्भिक अनुमान छ ।
मुख्यमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तिमाथि नै सम्पत्ति शुद्धीकरण जस्तो गम्भीर विषयमा अनुसन्धान सुरु हुनुले आगामी दिनमा बागमती प्रदेशको राजनीति र बानियाँको राजनीतिक भविष्यमा कस्तो असर पार्छ, त्यो भने विभागको अन्तिम प्रतिवेदनले नै तय गर्नेछ ।




















