Logo

२१ वैशाख,वीरगञ्ज ।  माईतिघर मण्डलामा राष्ट्रिय एकता दलले सीमा नीतिका विरुद्ध प्रदर्शन गरेको छ। दलले नेपाल–भारत सीमामा १ सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने सरकारी नियम खारेज गर्न र “डोजर आतंक” अन्त्य गर्न माग गरेको हो।

प्रदर्शनमा सहभागीहरूले सीमामा लागू गरिएको उक्त नियमले गरिब नागरिकमाथि अन्याय भएको आरोप लगाउँदै विभिन्न नारा लगाएका थिए। “सीमामा १ सयको नियम हटाऊ”, “गरीबको हक अधिकार बचाऊ”, “डोजर आतंक बन्द गर” जस्ता नाराहरू प्रदर्शनका क्रममा घन्किएका थिए।

दलका नेताहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणमाथि कडाइ र भेदभावपूर्ण व्यवहार भइरहेको बताएका छन्। पार्टी अध्यक्ष विनय यादवले सीमामा लागू नियमले विशेषगरी गरिब वर्गलाई मारमा पारेको दाबी गरे। उनका अनुसार धनी वर्गका लागि नियम लचकदार बनाइँदा गरिबमाथि कडाइ गरिएको छ।

यादवले एयरपोर्टबाट सुन र रक्सी सहज रूपमा भित्रिने तर किसानले ल्याएको चामलसमेत जाँच हुने अवस्था रहेको भन्दै सरकारको दोहोरो मापदण्डको आलोचना गरे। “यो विभेद अब सहिँदैन,” उनले भने।

उनले सरकारले आफ्ना मागहरूलाई बेवास्ता गरे थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।


सम्बन्धित समाचार
भर्खरै