Logo

२३ बैशाख, सुनसरी । सुनसरी प्रहरीले बिरामी ओसार्ने पवित्र मानिने एम्बुलेन्सको दुरुपयोग गरी लागुऔषध तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–२, पुल्ठेगौंडाबाट प्रहरीले १४८ किलो गाँजासहित एक भारतीय नम्बर प्लेटको एम्बुलेन्स र त्यसमा सवार दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

बुधबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा तस्करीको रहस्य खुलेको हो। एम्बुलेन्सभित्र प्लास्टिकका बोराहरूमा लुकाइछिपाइ राखेको अवस्थामा १४८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा एम्बुलेन्स चालक भारतको बिहार राज्य, सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र सोही स्थानका २१ वर्षीय मोहमद सदाम रहेका छन्। प्रहरीले एम्बुलेन्सको प्रयोग गरी सीमावर्ती क्षेत्रबाट गाँजा भारततर्फ कटाउने योजना रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।

सेवामूलक साधन एम्बुलेन्सलाई लागुऔषधको तस्करीका लागि प्रयोग गरिनु गम्भीर सुरक्षा चुनौतीका रूपमा हेरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र तस्करीमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ। एम्बुलेन्स प्रयोग गरी हुने यस्ता अपराधले सीमा क्षेत्रको सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार