Logo

२३ बैशाख, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको आगामी असार मसान्तसम्म सम्पन्न गर्ने गरी तय गरिएका सबै तहका निर्वाचन कार्यक्रमहरू अनिश्चितकालका लागि स्थगित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि रेडक्रस केन्द्रीय कार्यालयले आइतबार एक परिपत्र जारी गर्दै निर्वाचनका सम्पूर्ण प्रक्रियाहरूलाई यथास्थितिमा राख्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालयले रेडक्रसमा संस्थागत सुधार र शुद्धीकरणको आवश्यकता औँल्याउँदै निर्वाचन रोक्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार, निर्वाचन प्रक्रिया अघि बढाउनुपूर्व संस्थाको विधानमा सामयिक संशोधन गर्नुपर्ने, नयाँ सदस्यताका लागि खुला आह्वान गर्नुपर्ने र प्रत्येक तहमा स्वस्थ प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्ने सर्तहरू राखिएका छन् । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र जवाफदेही बनाउनका लागि हालको अवस्थामा निर्वाचन उपयुक्त नहुने प्रशासनको ठहर छ ।

केन्द्रीय कार्यालयले आफ्ना सबै प्रदेश, जिल्ला र पालिका शाखाहरूलाई पठाएको पत्रअनुसार, वैशाख २६ गतेदेखि सुरु हुने भनिएको पालिका तहको निर्वाचन अब हुने छैन । पूर्व निर्धारित तालिकाअनुसार जेठ १५ मा जिल्ला, असार २ मा प्रदेश र असार २४ र २५ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न गर्ने तयारी थियो । महामन्त्री मीनबहादुर मल्लले अर्को सूचना जारी नभएसम्मका लागि प्रक्रिया रोकिएको पुष्टि गर्नुभएको छ ।

एमाले–कांग्रेस गठबन्धन सरकारले २०८२ साउन ९ गते विनोद कुमार शर्माको अध्यक्षतामा गठित तदर्थ समितिलाई ३ महिनाभित्र नयाँ कार्यसमिति चयन गर्ने म्याद दिएको थियो ।

तर, लामो समय बित्दासमेत निर्वाचन हुन नसकेको र हालै मन्त्रालयमा भएको छलफलमा तल्लो तहदेखि केन्द्रसम्मकै अद्यावधिक स्थिति र निर्वाचन प्रक्रियामा गम्भीर कानुनी प्रश्न उठेपछि यो परिस्थिति सिर्जना भएको हो । यसले रेडक्रसभित्रको आन्तरिक विवाद र राजनीतिक खिचातानीलाई पुनः सतहमा ल्याइदिएको छ ।


सम्बन्धित समाचार