२३ बैशाख, काठमाडौं । तारकेश्वर नगरपालिका–३ की ४५ वर्षीया सरिता तिवारीको बीभत्स हत्या प्रकरणमा स्तब्ध पार्ने तथ्यहरू बाहिर आएका छन् ।
वैशाख १२ गतेदेखि बेपत्ता भएकी सरिताको शव मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले विवाहेत्तर सम्बन्ध लुकाउन यो हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले टोखा–२ का अनिल डङ्गोललाई पक्राउ गरेको छ ।
मैत्रीको आवरणमा अपराधको जग
प्रहरी अनुसन्धानका अनुसार अभियुक्त अनिल डङ्गोल र मृतकका पति शंकर तिवारीबीच विगत ७–८ वर्षदेखि घनिष्ठ मित्रता थियो । कलाकारिता र कृषिमा व्यस्त रहने शंकरसँगको त्यही मित्रताको फाइदा उठाउँदै अनिलको सरितासँग नजिकको सम्बन्ध विकास भएको देखिन्छ ।
झण्डै एक वर्षदेखि सघन प्रेम सम्बन्धमा रहेका अनिल र सरिताको विषयमा गत फागुनदेखि मात्रै परिवारले सुइँको पाएको थियो । निर्वाचन प्रहरी (म्यादी) मा भर्ना भएकी सरिता घर नफर्कने र खोजी गर्दा अनिलको साथमा भेटिन थालेपछि यो सम्बन्ध सार्वजनिक भएको थियो ।
हल्ला भएपछि हत्याको योजना
समाज र परिवारमा उनीहरूको सम्बन्धबारे चर्चा चल्न थालेपछि सरिताले अनिललाई आफ्नो पूर्ण जिम्मेवारी लिन दबाब दिन थालेकी थिइन् । आफू सामाजिक रूपमा अप्ठ्यारोमा परेको भन्दै सरिताले राखेको प्रस्ताव अनिलका लागि तगारो बनेपछि उनले हत्याको योजना बुनेको प्रहरीको दाबी छ । वैशाख ११ गते बजार जान्छु भनेर घरबाट निस्किएकी सरितालाई अनिलले शिवपुरी जंगलमा पुर्याएर हत्या गरी खाल्डो खनेर गाडेको बयानका क्रममा स्वीकार गरेका छन् ।
यसरी खुल्यो रहस्य
सरिता बेपत्ता भएपछि सुरुमा अनिलले आफूलाई केही थाहा नभएको भन्दै पति शंकरलाई नै ढाडस दिइरहेका थिए । तर, टोखा–२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले दिएको सूचना र प्रहरीको सूक्ष्म अनुसन्धानपछि अनिल पक्राउ परेका हुन् ।
काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनिलले नै शव गाडेको ठाउँ देखाएपछि प्रहरीले उत्खनन गरी शव निकालेको हो । आफ्नै विश्वासिलो साथीले पत्नीको हत्या गरी शव गाड्न सघाउने नाटक गरेको थाहा पाएपछि तिवारी परिवार यतिबेला विक्षिप्त बनेको छ।

















