२३ बैशाख, काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाले यो सिजनमा रोयल्टी संकलनमा ऐतिहासिक रेकर्ड कायम गरेको छ ।
पर्यटन विभागका अनुसार मंगलबारसम्मको तथ्यांकले सगरमाथाबाट मात्रै १ अर्ब १ करोड २८ लाख २३ हजार ९२५ रुपैयाँ रोयल्टी संकलन भएको देखाएको छ । सरकारले शरद ऋतुदेखि हिमाल आरोहणको सलामी दस्तुर (रोयल्टी) मा गरेको वृद्धि र आरोहीहरूको बढ्दो आकर्षणका कारण यो उपलब्धि सम्भव भएको हो ।
यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४७ वटा समूहका कुल ४६४ आरोहीले अनुमति लिएका छन् । सगरमाथा बाहेक ल्होत्से, अमादब्लम लगायतका २९ वटा हिमालहरूमा कुल १ हजार ७२ आरोहीले अनुमति लिँदा राज्यले समग्रमा १ अर्ब १७ करोड ५५ लाख रुपैयाँ रोयल्टी प्राप्त गरेको छ। सगरमाथापछि ल्होत्सेमा १११ र अमादब्लममा १०४ आरोहीले अनुमति लिएको विभागको तथ्यांक छ ।
यस वर्ष कुल ७९ मुलुकका नागरिक हिमाल चढ्न नेपाल आएका छन् । जसमा चीनबाट १३९ र अमेरिकाबाट १३२ आरोही रहेका छन् । सगरमाथाको हकमा मात्रै ५५ देशका आरोहीले अनुमति लिएका छन्, जसमा चिनियाँ (१००), अमेरिकी (६७) र भारतीय (५८) आरोहीहरूको संख्या अग्रपंक्तिमा छ । विदेशी आरोहीहरूको यो आगमनले नेपालको पर्वतीय पर्यटन र विदेशी मुद्रा आर्जनमा ठूलो टेवा पुर्याएको छ ।

















